बुधवार पनि बजार १९.८४ अंकले घटेर २७३४.४४ अंकमा फर्कियो। २९४७.४४ अंक भेट्टाउन बजारले अनेकन कारणको उपयोग गरिरहेको छ। तर प्रयोग भएका सबै कारण फेल हुँदै गइराखेका छन्। सबैभन्दा पहिले बजारले निर्वाचनको मिति घोषणालाई परीक्षण गर्यो। उक्त कारण बजार बढाउन पूर्ण रुपमा असफल साबित भयो। पछिल्लो केही दिनदेखि बजारले एमसीसीलाई परीक्षण गरिरहेको छ। जुन परीक्षण पनि सफल हुन सकिरहेको छैन। मंगलबार अन्तिम घण्टा बजारले निक्कै ठुलो फड्को मार्यो। उक्त फड्को मार्नुको प्रमुख कारण बुधवार संसदमा एमसीसी टेबल हुने विषय थियो। बुधवार त्यही खबरले सुरुवाती समयमा उचालेको बजारलाई लामो समय टिकाउन सकेन। एमसीसी टेबल नहुने खबर सार्वजनिक भए लगत्तै बजार पुनः ओर्लियो।
बजारले इभेन्टलाई बारम्बार क्यास गर्न खोजेको भएपनि ती सबै बेकार साबित हुँदै गएका छन्। इभेन्टहरुलाई केही कम्पनीले प्रतिक्रिया दिए पनि ठूलो बजार पूँजीकरण भएका कम्पनीले भने कुनै पनि इभेन्टलाई पूर्ण रुपमा पत्याएका छैनन्। जबसम्म लार्ज क्याप कम्पनीहरूले प्रतिक्रिया दिँदैनन्, तबसम्म बजारले फड्को मार्न सक्तैन। बजार बढ्न लार्ज क्याप कम्पनीहरूले प्रतिक्रिया दिनै पर्छ। साना कम्पनीहरूको प्रतिक्रियाले मात्रै बजार बढ्दैन।
बजार बढाउने प्रमुख अस्त्र भनेको लार्ज क्याप कम्पनीहरूको मूल्य बढ्नु हो। उनीहरूको मूल्य थोरै बढ्दा पनि बजारमा इफेक्ट गर्छ। उनीहरूले पारेको इफेक्ट कै आधारमा सूचक माथिल्लो स्तरमा उक्लन्छ। तर साधारण लगानीकर्ताहरूले भने यसलाई ध्यान दिएका हुँदैनन्। तर नेप्सेमा सूचिकृत लार्ज क्यापका १० कम्पनीहरूले नै बजारलाई तल/माथि लैजान सबैभन्दा ठूलो भूमिका निर्वाह गर्छन्। जुन कम्पनीहरूलाई बजार घट्ने/बढ्नेको बेसको रुपमा ठूला लगानीकर्ताले हेर्ने गर्छन्। उनीहरूले बजार बढाउन खोजे तिनै कम्पनीको मूल्य सबैभन्दा पहिले माथि लैजान्छन्। ती कम्पनीको बढेको मूल्यलाई आधार बनाएर स्मल क्यापमा उनीहरूले खेल्ने गर्छन्। तर यति बेला भने लार्ज क्याप कम्पनीहरूलाई माथि लैजाने हरेक यत्न विफल हुँदै गएको छ। जसले गर्दा सूचकमा समेत त्यसको इफेक्ट परिरहेको छैन। लार्ज क्यापमा रहेको एक मात्र कम्पनीले अहिलेको बिन्दुमा बजार टिकाइ राख्न प्रमुख भूमिका निर्वाह गरिरहेको छ। उसको पनि भूमिका नेगेटिभ देखिने हो भने बजार २५ सयको लाइनमा आउने देखिन्छ।
हेर्नुहोस् बजार घट/बढ गर्न भूमिका खेल्ने १० लार्ज क्याप कम्पनीहरू
माथिको टेबलमा सबैभन्दा भन्दा बढी बजार घट्न/बढ्न टेवा पुर्याउने कम्पनीमा ग्लोबल आइएमइ बैक छ। उसको ५.६३ पैसा घट/बढ हुँदा सूचकमा १ अंकको फरक पर्छ। एचआइडिसिएलको ५.६४ पैसाले १ अंकको फरक पार्छ भने निफ्राको ६.२१ पैसा घट्दा नै बजारमा १ अंकको फरक पर्छ। यस आधारमा बजारमा फरक पार्ने १० कम्पनीमा नेपाल टेलिकम पनि पर्छ। उसको ८.९४ पैसा झर्दा एक अंकको उतार चढाव हुन्छ।
पछिल्लो १५ दिनको औसत कारोबारलाई हेर्ने हो भने लार्ज क्यापमा भएका एक कम्पनी बाहेक सबै कम्पनीको कारोबार नेगेटिभ छ। यति बेला नेपाल टेलिकमले मात्रै बजार धानिरहेको देखिन्छ। किनकि लार्ज क्यापमा भएका १० कम्पनीको औसत नेगेटिभ रेट ३.३४ प्रतिशत छ। यस आधारले पनि यति बेला सूचक बढ्नलाई टेवा दिने प्रमुख कम्पनीहरू नकारात्मक छन्। बजार बढ्ने प्रमुख जग कम्पनी नै नकारात्मक भएको कारणले पनि बजारले विभिन्न इभेन्टलाई क्यास गर्न खोजे पनि सफल हुन नसकेको हो।
पछिल्लो समयको १० कम्पनीले बजार बढाउन टेवा दिँदै आएका थिए। जसमा नेपाल लाइफले कम लाभांश घोषणा गरेपछि बढ्दो सूचकको जग हल्लियो। अपर तामाकोशीको मूल्य करिब एक सय रुपैयाँ ओर्लिएपछि सूचकमा थप दबाव बढ्यो। रिइन्स्योरेन्स, ग्लोबल आइएमइ बैंक, एचआइडिसिएल र नागरिक लगानी कोषको समेत मूल्य तल ओर्लिएपछि सम्पूर्ण जग नै धरमराएको हो। निफ्राले केही दिन अघिसम्म धान्दै आएको सूचकलाई उसले समेत साथ छोडेपछि बजार बढाउने सम्पूर्ण जिम्मा एनटिसिको काँधमा आइपुगेको छ। बुधवारसम्म धानेको एनटिसिले पनि साथ छोड्ने हो भने बजारले अझै केही दिन ओरालो यात्रा तय गर्ने निश्चित छ। तर एनटिसिले थापिरहेको काँधमा अरू लार्ज क्यापले पनि होस्टेमा हैँसे गरे भने बजारले पुनः उकालो यात्रा तय गर्न सक्छ। अन्यथा अहिलेको बजारको अवस्था निक्कै नाजुक छ। नाजुक बजारलाई डोराइरहेको एनटिसिको जोड बल कहिलेसम्म चल्छ ? त्यसैले सूचकको उकालो या ओरालो यात्रा तय हुने छ।