बैंकहरुको आक्रमक कर्जा लगानी बल्ल रोकियो, पूँजीकोषमा दबाब परेपछि पोर्टफोलियो बिक्री गर्नेतिर बैंक

Feb 21, 2022 08:26 AM Merolagani

रबिन पाैडेल

पूँजीकोषमा दबाब पर्न थालेपछि बैंकहरु आफ्नो कर्जाको पोर्टफोलियो बिक्री गर्नेतिर लागेका छन्। बैंकहरुले पूँजीकोष नै दबाबमा पर्नेगरी व्यवसाय विस्तार गरेपछि अहिले व्यवसाय विस्तार रोकेर पोर्टफोलियो व्यवस्थापनतर्फ लागेका हुन्।

गत वर्षदेखि नै बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका थिए। चालु आर्थिक वर्षमा नै बैंकहरुले झण्डै ४ खर्ब रुपैयाँबराबरको कर्जा लगानी गरिसकेका छन्। यसले गर्दा बैंकहरुको पूँजीकोषमा दबाब बढ्दै गएको छ। बैंकहरुले आफ्नो पूँजी नहेरी व्यवसाय विस्तारमा आक्रामक हुँदा अहिले उनीहरु समस्यामा पर्न थालेका हुन्।

गत पुसको तथ्याँक अनुसार दुई बैंकको पूँजीकोष अनुपात केन्द्रिय बैंककले तोकेको सीमाभन्दा तल झरेको छ। अन्य केहि बैंकको पनि यस्तो सीमा नजिक पुगेको छ। यसले गर्दा पूँजीकोष कायम गर्न बैंकहरु अहिले पोटफोलियो बिक्रीतर्फ लागेको बैंकरहरु बताउछन्।

पूँजीकोष नपुगेकै कारण गत वर्षको कमाइबाट एनआइसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न पाएन। एनआइसी एशिया बैंकले आक्रामक रुपमा व्यवसाय विस्तार गर्दा गत वर्षदेखि नै केन्द्रिय बैंकले तोकेअनुसारको पूँजी पुर्याउन सकेको थिएन। बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार नरोके अन्य केहि बैंकहरुको अवस्था पनि यही हुने देखिन्छ।

अहिले नै माच्छापुच्छ्रे बैंकको पूँजीकोष अनुपात केन्द्रिय बैंकले तोकेको सीमाभन्दा तल देखिएको छ। अन्य केहि बैंकहरुको पनि पूँजीकोष सीमा नजिक पुगिसकेका छन्। केहि समय अघिदेखिनै केहि बैंकहरुले धेरै नै कर्जा विस्तार गरेकोले अब अहिलेको अवस्थामा आफ्नो पोर्टफोलियो बेचेर सेफ साइडमा बस्नुपर्ने अवस्था आएको बैंकरहरु बताउछन्।

यसले गर्दा अहिले केहि बैंकहरुले कर्जा लगानी रोकेका हुन्। एकातिर निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुसँग लगानीयोग्य रकम अभाव हुँदै गएको छ भने अर्कोतर्फ बैंकहरुको पूँजीकोष दबाबमा पर्दै गएको छ। यसले गर्दा पछिल्लो समय उनीहरुको व्यवसाय विस्तारमा केहि कमी आएको छ।

अहिले बैंकहरुले तीब्र कर्जाको विस्तारभन्दा पनि आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने बैंकर्स एशोशियसनका अध्यक्ष अनिल उपाध्याय बताउछन्। "अहिलेको अवस्था भनेको आफ्नो पोर्टफोलियो म्यानेज गर्दै अघि बढ्ने बेला हो," कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले भने "अहिले संकट छ। संकटको समयमा यहि स्पिडमा गयाे भने दुर्घटना हुन्छ।"

बैंकहरुको आक्रामक कर्जा वृद्धिको कारण पूँजीकोष दबाबमा परेपिछि माघ यता उनीहरुको कर्जाको विस्तार केहि सुस्ताएको छ। माघ महिनाभरीमा बैंकहरुको निक्षेप १३ अर्बले घटेको छ भने कर्जा १२ अर्ब रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको पहिलो दुई त्रैमासमा बैंकहरु जुन स्पिडमा अघि बढेका थिए अहिले त्यो स्पिड कम भएको देखिन्छ।

राष्ट्र बैंक पनि बैंकहरुको कर्जाको विस्तार कम गर्नुपर्ने पक्षमा देखिएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमा बैंकहरुले लगानी गर्ने अनुत्पादक क्षेत्रको कर्जाको जोखिम भारका पुनरावलोकन गर्ने जनाएको छ। यसले केन्द्रिय बैंकले यस्ता कर्जाको जोखिम भार बढाउदा बैंकहरुले ती क्षेत्रमा कर्जा लगानी घटाउन सक्ने बैंकरहरु बताउछन्।

बैंकर्स संघले चालु मौद्रिक नीतिको समीक्षको लागि सुझाव दिँदै बैंकहरुलाई पूँजी बृद्धिको बाटो खाल्नुपर्ने सुझाव दिएको थियो। तर समीक्षमा केन्द्रिय बैंकले त्यसलाई सम्बोधन गरेको छैन। त्यसले गर्दा पनि अब आक्रामक रुपमा बैकहरुलाई कर्जा बढाउन सहज देखिदैन। उनीहरु कर्जाको विस्तार केहि कम गर्ने मनस्थितिमा देखिएका छन्।

बैंकहरुले आफ्नो पूँजी अनुसार कर्जा विस्तार गर्नुपर्ने अध्यक्ष उपाध्याय बताउछन्। "पूँजीको बेसमा आफ्नो ग्रोथ गर्दै जाने हो। ग्रोथको बेसमा पूँजी बढाउने होइन।" उनले भने "हिजो कै दिनमा त्यो रोकिन पर्थ्यो तर रोकिएन। सधै त्यहि रफ्तारमा जाँदैन। अहिले कतिपय बैंकहरुले पोर्टफोलियो बचेका छन्।"

comments powered by Disqus

राष्ट्र उत्थान लघुवित्तको शेयर बाँडफाँट, ७९ हजार ४५० जनाले मात्रै शेयर पाए

Feb 24, 2022 03:28 PM

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर ( आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शेयर बाँडफाँट गरेकाे हो ।