राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिनु अघि कम्पनी कस्तो छ? हेरौं

Feb 16, 2022 06:17 AM Merolagani

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज, बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २६ करोड रुपैयाँ र चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा फागुन ४ गतेदेखि फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन १८ गतेसम्म म्याद थप हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।

लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ असार ७ गते रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ असार ६ गतेसम्म कायम रहनेछ।

कस्तो संस्था हो?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था २०७५ असोज १४ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। कम्पनीले २०७५ माघ १६ गते नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय संस्थाको रुपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी कारोबार गर्न अनुमति पाएको थियो।

२०७५ फागुन ८ गतेदेखि औपचारीक रुपमा वित्तीय कारोबार शुरु गरेको लघुवित्तले हाल ३६ जिल्लामा ८८ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका वा विपन्न वर्गका लक्षित ग्राहक सदस्यहरुलाई लघुकर्जा प्रवाह गर्दै आएको छ।

यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३, साँगमा रहेको छ।

तीन वर्षमा सञ्चित नाफा साढे ४८ करोड माथि पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ४८ करोड ५८ लाख ७७ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७७/७८ सम्म कम्पनीको सञ्चित मुनाफा ६ करोड २४ लाख ३० हजार रुपैयाँ रहेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ४१ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २७ करोड ६६ लाख रुपैयाँ सञ्चित नाफा कमाउने लघुवित्तले प्रक्षेपण गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ र प्रतिशेयर आम्दानी २९ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ८१ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा पुग्ने लघुवित्तको अनुमान छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्ने परेको लघुवित्तले जनाएको छ। त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.६९ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेर चुक्ता पूँजी २६ करोड रुपैयाँ पुर्याउन लागेको हो।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्ने परेको जनाएको छ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ८ करोड ५० लाख रुपैयाँ मध्ये कृषि तथा पशुपालन तथा व्यवसायिक कृषिमा ७०० जना ग्राहकलाई औषत १ लाखको दरले ७ करोड रुपैयाँ र सेवा व्यवसाय क्षेत्रमा १०० जना ग्राहकलाई औषत १ लाखको दरले १ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने जनाएको छ।

यस्तै ६ वटा नयाँ शाखाहरु सञ्चालन गर्न फर्निचरको लागि १२ लाख रुपैयाँ, कार्यालय सञ्चालनको लागि ९ लाख रुपैयाँ र कर्मचारीको तलब भत्ताको लागि २९ लाख गरी कुल ५० लाख रुपैयाँ खर्च गर्ने लघुवित्तको जनाएको छ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्तको सञ्चालक समितिमा एक जना महिला सहित ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र १ जना सञ्चालक हुने प्रावधान रहेको छ।

सञ्चालक समितिको अध्यक्षमा प्रल्हाद मान माली रहेका छन्। स्वतन्त्र सञ्चालक समेत रहेका मालीसंँग विभिन्न सरकारी तथा गैरसरकारी सेवामा ४० वर्ष भन्दा बढी सेवा गरेको कार्यानुभव रहेको छ।

यस्तै सञ्चालक समितिमा सदस्यमा चिरन्जीवी विसी (प्रभु बैंकबाट प्रतिनिधि), रिता सापकोटा, प्रदिप कुमार तिमिलसना (नेपाल ग्रामिण विकास संस्थाबाट प्रतिनिधि) र बिमल डंगोल (राष्ट्रिय वाणिज्य बैंकबाट प्रतिनिधि) रहेका छन्।

हाल लघुवित्तको सञ्चालक समितिमा ५ जना रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुबाट २ जना चयन हुन बाँकि छ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्तार गराउदै लाने रणनीति लिएको छ। उद्देश्य प्राप्तिका लागि चालिने लघुवित्तको समयवद्ध रणनीति यस्ता छन्।

  • यसै आर्थिक वर्षमा कम्तिमा पनि थप ६ वटा शाखा विस्तार गरी आ.व. २०८०/८१ सम्ममा १११ शाखा संख्या पुर्याउने
  • सेवाग्राहीको संख्यामा क्रमशः वृद्धि गर्दै आव २०८०/८१ सम्ममा करिब १,००,००० पुर्याउने
  • वित्तीय संस्थाले आव २०७८/७९ को अन्तसम्ममा निक्षेप संकलन रु. ९१ करोड, लगानीमा रहिरहेको कर्जा रु. ४ अर्ब ४२ करोड र खुद नाफा रु. ८ करोड पुर्याउने लक्ष्य लिएसँगै आव २०८०/८१ सम्ममा निक्षेप संकलन रु. १ अर्ब २९ करोड, लगानीमा रहिरहेको कर्जा रु. ९ अर्ब ९२ करोड र खुद नाफा रु. २७ करोड पुर्याउने
  • वित्तीय संस्थाले आव २०७८/७९ को अन्तसम्ममा संस्थाको नेटवर्थ ४५ करोड ३७ लाख पुर्याई आव २०८०/८१ सम्ममा ९१ करोड ३३ लाख पुर्याउने
  • वित्तीय संस्थाले आव २०७८/७९ को अन्तसम्ममा संस्थाको प्रतिशेयर आम्दानी रु. ३२.६७ पुर्याई आव २०८०/८१ सम्ममा १०५.४४ पुर्याउने
  • भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिम र निजहरुको आवश्यकता बमोजिमका कर्जा र बचतका सेवा सुविधाहरु उपलब्ध गराउंदै जाने
  • प्रबन्धपत्रमा उल्लेख भए बमोजिमका उद्देश्यहरु हासिल गर्नका लागि लघुवित्त कारोबार विस्तार गर्दै लैजाने
  • आन्तरिक नियन्त्रण र अनुपालना प्रणाली सुदृढिकरणमा विशेष जोड दिने
  • संस्थाको दिगो विकासको लागि भविष्यमा असर पर्न सक्ने नकारात्मक घटना वा अवस्था आउन नदिन आवश्यक थप नीति, नियम, कार्यविधिहरुको तर्जुमा गरी अघि बढ्ने रणनीति यस वित्तीय संस्थाले लिएको छ।
comments powered by Disqus

जीवन विकास लघुवित्तले ७३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Feb 20, 2022 10:23 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हाे ।