राष्ट्र बैंकको निर्देशनपछि कति घट्ला बैंकहरुकाे ब्याजदर?

Oct 20, 2021 09:20 AM Merolagani

कात्तिक २ गते मंगलबार, साँझ एक निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धिमा कडाइ गरेको छ। नयाँ निर्देशिकासँगै बैंकहरुको ब्याजदर घट्ने देखिएको छ।

बैंकहरूले निक्षेप बढाउन ब्याजदर वृद्धि गर्ने प्रतिस्पर्धातर्फ लाग्न थालेपछि केन्द्रिय बैंकले त्यसलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको हो। दशैं बिदा लगत्तै कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका थिए। उनीहरुले अधिकतममा ११.६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका थिए।

मंगलबार जारी निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै प्रकारको निक्षेपको ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्।

केन्द्रिय बैंकले प्रकाशित भइसकेको ब्याजदर संशोधन गरी आज अर्थात कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही दिनदेखि लागु गर्नुपर्ने निर्देशन दिएको छ। साथै सो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ।

कतिसम्म होला बैंकहरुको नयाँ ब्याजदर?

नयाँ निर्देशिका अनुसार १२ बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर घटाउनु पर्ने देखिएको छ भने बाँकी बैंकहरुको ब्याजदर वृद्धिदर १० प्रतिशतभन्दा कम भएकोले घटाउन आवश्यक नभएको देखिन्छ।

कात्तिक महिनामा वाणिज्य बैंकहरुले बचतमा अधिकतमा ८.१० प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेका थिए। एनआईसी एशिया बैंकले बचतमा ६.६१ प्रतिशतदेखि ८.१ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको थियो। जबकी असोजमा यसको ब्याजदर ३.६ प्रतिशतमात्र थियो। केन्द्रिय बैंकको निर्देशिका अनुसार उसले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अधिकतममा ४.१४ प्रतिशत विन्दु घटाउनु पर्ने देखिन्छ। उसले बचतमा अधिकतम ३.९६ प्रतिशत मात्र ब्याजदर राख्न पाउनेछ।

निर्देशिका अनुसार असोज महिनाको ब्याजदरमा १० प्रतिशत वृद्धि गर्दा बचतमा बैंकहरुको अधिकतम ब्याजदर ७.१७ प्रतिशत हुने देखिएको छ। एनएमबि बैंकले सो दरसम्म नयाँ ब्याजदर सार्वजनिक गर्न पाउनेछ। यद्यपि, कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरमा बैंकको ब्याजदर ६.५७ प्रतिशत मात्र छ। असोजमा उसको ब्याजदर ६.५२ प्रतिशत थियो।

यता मुद्दति निक्षेपमा भने १५ बैंकहरुले ब्याजदर घटाउनु पर्ने देखिएको छ। जसमा सर्वाधिक ब्याजदर सार्वजनिक गरेको हिमालयन बैंकले सबैभन्दा धेरै ब्याजदर घटाउनु पर्नेछ। सो बैंकले यस्तो निक्षेपमा अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको थियो। जबकि असोज महिनामा यस्तो निक्षेपमा बैंकको अधिकतम ब्याजदर ८.५० प्रतिशत थियो। यस अनुसार उसले न्यूनतम २.३२ प्रतिशतविन्दु ब्याजदर घटाउनु पर्ने देखिएको छ। उसले संस्थागत निक्षेपकर्तालाई ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको थियो।

निर्देशिका अनुसार असोज महिनाको ब्याजदरमा १० प्रतिशत वृद्धि गर्दा मुद्दती निक्षेपमा बैंकहरुको अधिकतम ब्याजदर ११.०८ प्रतिशत हुने देखिएको छ। सनराइज बैंकले सो दरसम्म नयाँ ब्याजदर सार्वजनिक गर्न पाउनेछ। यद्यपि, कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरमा बैंकको ब्याजदर १०.७० प्रतिशत मात्र छ। असोजमा उसको ब्याजदर १०.०७ प्रतिशत थियो।

संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई यस्तो निक्षेपमा दिइने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशतविन्दुले कम हुनुपर्ने केन्द्रिय बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ। बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर अझ कम हुने देखिन्छ।

comments powered by Disqus

जीवन विकास लघुवित्तले ७३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Feb 20, 2022 10:23 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हाे ।