सूचीकृत कम्पनीहरुको भोलाटाइलिटी मापन गर्ने एक महत्वपूर्ण सूचक बिटा क्यालकुलेशनका आधारमा विश्लेषण गर्दा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृतमध्ये २२ बैंक बजारभन्दा कम उतारचढाव भएको देखिन्छ भने १ बैंक मात्रै बजारभन्दा केहि बढी उतारचढाव आएको छ। यसको मतलब सूचीकृत वाणिज्य बैंकहरुमध्ये २२ वटा बैंकहरुको बिटा १ भन्दा तल देखिएका छ भने एक बैंकको मात्र बिटा १ भन्दा माथि छ।
समयसँगै बजारभन्दा बढी स्विङ हुने स्टकको बिटा १.० भन्दा बढी हुन्छ। यदि कुनै स्टक बजारभन्दा कम घटबढ हुन्छ भने त्यो स्टकको बिटा १ भन्दा कम छ। उच्च बिटा भएका स्टकहरू जोखिमपूर्ण हुन्छन् तर ती स्टकहरुमा उच्च रिटर्नको सम्भावना पनि धेरै हुन्छ। तर, कम बिटा भएका स्टकहरूमा कम जोखिम हुन्छ भने सामान्यतया ती स्टकहरुले प्रतिफल पनि कम दिन्छ।
चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको शेयरमा निकै कम उतारचढाव देखिएको छ। यसले गर्दा धेरै बैंकहरुको विटा १ भन्दा कम छ।
चालु आर्थिक वर्षको तथ्याँकलाई आधार मान्दा वाणिज्य बैंकहरुमध्ये लक्ष्मी बैंकको मात्रै विटा १ भन्दा माथि देखिएको छ। उसको विटा १.०३ छ। यसको मतलब लक्ष्मी बैंकको शेयर चालु आर्थिक वर्षमा बजारभन्दा केहि बढी भोलाटाइल देखाएको छ।
यस्तै नेपाल एसविआई बैंकको बिटा सबैभन्दा कम ०.४९ प्रतिशत मात्रै रहेको छ भने स्ट्यान्डर्ड चाटर्ड बैंकको ०.५५ प्रतिशत, नबिल बैंकको ०.६९ प्रतिशत, एभरेष्ट बैंकको ०.७ प्रतिशत, कृषि विकास बैंकको ०.७३ प्रतिशत र एनएमबि बैंकको ०.७६ प्रतिशत रहेको छ।
बिटाले नेप्से सूचक १ प्रतिशत घटबढ हुँदा सूचीकृत कम्पनीहरुको मूल्य कति प्रतिशत घटबढ हुन्छ भन्ने देखाउँछ अर्थात कुनै पनि स्टक बजारभन्दा कति धेरै वा कम अस्थिर छ भन्ने कुरा बिटाले देखाउँछ। उदाहरणका लागि, यदि स्टकको बिटा १.२ छ भने, यो बजार भन्दा २० प्रतिशत बढी अस्थिर मानिन्छ। सानो क्याप भएका स्टकहरू बजार बेन्चमार्क भन्दा उच्च भोलाटाइल हुन्छन्।
चालु आर्थिक वर्षमा नेप्से सूचकले अहिलेसम्मकै उच्च विन्दु ३१९८ सम्म पुगेर पुनः २३ सय भन्दा तल सम्म आएको थियो। अहिले नेप्से सूचक २६ सयको आसपासमा छ। समग्रमा चालु आर्थिक वर्षमा नेप्से सूचक ९.४६ प्रतिशतले घटेको छ। नेप्सेको यस्तो उतारचढावमा अधिकाँश वाणिज्य बैंकहरुको शेयर कम स्विङ्ग भएको देखिन्छ।
पछिल्लो समय वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण कमै देखिन्छ। शेयर बजार उच्च रुपले बढ्दा पनि ठूलो क्यापिटल भएको कारण यी शेयरहरु खासै धेरै बढ्न सकेन। बजारको स्विङ्गभन्दा वाणिज्य बैंकको शेयर कम स्विङ्ग हुने गरेको देखिएको छ।
लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा जोखिम मूल्याँकन गर्नु आवश्यक हुन्छ। सूचीकृत स्टकहरुको जोखिमको मूल्याँकन गर्ने बिटा एउटा महत्वपूर्ण सूचक हो। जोखिम मूल्याङ्कन गर्दा स्टकको मूल्य परिवर्तनशीलतालाई विचार गर्नु महत्त्वपूर्ण छ। बिटा प्रायः जोखिम प्रतिफल मापनको रुपमा प्रयोग गरिन्छ। यसको अर्थ यसले लगानीकर्ताहरू कति रिटर्न प्राप्त गर्न कति जोखिम लिन इच्छुक छन् भनेर निर्धारण गर्न मद्दत गर्दछ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको पूँजी तुलनात्मक रुपमा धेरै छ। जसले गर्दा यी स्टकहरु कम अस्थिर हुन्छन्।
कतिपय आधारभूत रुपमा बलिया कम्पनीहरु पनि कम अस्थिर हुन्छन् भने कतिपय आधारभूत रुपमा कमजोर रहेका कम्पनीहरु पनि बजारभन्दा धेरै अस्थिर हुन्छन्। बजारभन्दा बढी अस्थिर स्टकहरु खरिद गर्दा बजार बढ्दा धेरै लाभ पाउने सम्भावना हुन्छ भने बजार घट्दा पनि अन्य कम्पनीको तुलनामा धेरै गुमाउने सम्भावना रहन्छ।