नेष्डो समृद्ध लघुवित्तको आईपीओ आवेदन दिनु अघि कम्पनी कस्तो छ? हेरौं

Feb 23, 2022 05:59 AM Merolagani

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज, बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ र चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ।

सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा फागुन ११ गतेदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन २५ गतेसम्म म्याद थप हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ जेठ १० गते रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ जेठ ९ गतेसम्म कायम रहनेछ। 

कस्तो संस्था हो?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था २०७४ चैत २८ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। कम्पनीले २०७५ माघ २९ गते नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो।

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गतेदेखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ।

यस वित्तीय संस्थाका संस्थापकहरुमा विभिन्न बैंक तथा वित्तीय संस्था तथा बैंकिङ्ग क्षेत्र, सरकारी क्षेत्र, गैर–सरकारी क्षेत्र, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु छन्।

२०७५ फागुन २१ गतेदेखि राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा औपचारीक रुपमा वित्तीय कारोबार शुरु गरेको लघुवित्तले हाल १२ जिल्लामा ५६ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ६, न्युरोडमा रहेको छ।

तीन वर्षमा सञ्चित नाफा साढे ५७ करोड पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ५७ करोड ४३ लाख १६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २५ करोड ३० लाख ३० हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा ३१ करोड ९६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ४३ करोड १२ लाख रुपैयाँ सञ्चित नाफा कमाउने लघुवित्तले प्रक्षेपण गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ ४०७ रुपैयाँ ५९ पैसा र प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ८३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३६३ रुपैयाँ ११ पैसा र प्रतिशेयर आम्दानी १२३ रुपैयाँ ८१ पैसा पुग्ने लघुवित्तको अनुमान छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नु परेको लघुवित्त वित्तीय संस्थाले जनाएको छ। त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.५० प्रतिशत अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गरेर चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुर्याउन लागेको हो।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ८ करोड २८ लाख ७५ हजार रुपैयाँमध्ये ५० प्रतिशत अर्थात ४ करोड १४ लाख ३७ हजार ५०० रुपैयाँ पशुपालन तथा कृषि कर्जामा लगानी गर्नेछ।

यस्तै २ करोड ७ लाख १८ हजार ७५० रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र २ करोड ७ लाख १८ हजार ७५० रुपैयाँ नै साना तथा घरेलु कर्जा लगानी गर्ने लघुवित्तले जनाएको छ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र १ जना सञ्चालक हुने प्रावधान रहेको छ।

सञ्चालक समितिको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने रहेकी छिन्। लामो समय सामाजिक अभियानमा संलग्न लामिछानेसँग लघुवित्त वित्तीय गैरसरकारी संस्था नेष्डो नेपाल र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा सञ्चालक रहेको अनुभव रहेको छ।

यस्तै, सञ्चालक समितिमा सदस्यमा विश्व प्रकाश प्रसाई ठकुरी, (राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था), रत्न प्रसाद अधिकारी, रेशम बहादुर खत्री र प्रेम शर्मा पौडेल रहेका छन्। पौडेल स्वतन्त्र सञ्चालक रहेका हुन्।

हाल लघुवित्तको सञ्चालक समितिमा ५ जना रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुबाट २ जना चयन हुन बाँकि छ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउदै लाने रणनीति लिएको छ।

लघुवित्तले आगामी दिनहरुमा शाखा बिस्तारमा थप जोड दिने, आफ्ना शाखा विस्तारको हिसाबले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्ने, भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा पुर्याउन प्रयत्नरत रहने योजना बनाएको छ।

यस्तै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी सेवाग्राहीहरुको संख्यामा वृद्धि गर्दै लगिने, समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने रणनीति लिएको छ।

लघुवित्त कारोबार गर्ने वित्तीय संस्थाहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुनसक्ने, वित्तीय संस्थाले प्रदान गरेको तथा भविष्यमा प्रदान गरिने कर्जा तथा सापट खराब कर्जामा परिणत हुन गएमा हुने, कोभिड‐ १९ को महामारीबाट आउन सक्ने लगायतको जोखिमहरुलाई न्यूनिकरण गर्दै जाने रणनीति लघुवित्त वित्तीय संस्थाले लिएको छ।

comments powered by Disqus

राष्ट्र उत्थान लघुवित्तको शेयर बाँडफाँट, ७९ हजार ४५० जनाले मात्रै शेयर पाए

Feb 24, 2022 03:28 PM

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर ( आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शेयर बाँडफाँट गरेकाे हो ।