जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

Feb 04, 2022 06:43 AM Merolagani

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज, शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ३२.६२५ प्रतिशतले हुन आउने ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ८ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको अधिकृत पूँजी २५ करोड रुपैयाँ, जारी पूँजी १६ करोड रुपैयाँ र चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ।

सर्वसाधारणलाई ५ करोड २२ रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५ हजार २२० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा माघ २१ गतेदेखि माघ २५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरेमा फागुन ६ गतेसम्म म्याद थप हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता आइएमई क्यापिटल लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।

उक्त रेटिङ्गको अवधि २०२१ जुलाई १२ एक वर्ष अर्थात २०२२ जुलाई ११ सम्म रहनेछ।

कस्तो संस्था हो?

सृजना विकास केन्द्र, पोखरा कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा २०६० बाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरिएको थियो। लघुवित्त कार्यक्रम करिब सुरु गरेको १५ वर्ष पछि राष्ट्र बैंककै स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको थियो।

पछि जाल्पा लघुवित्त वित्तीय संस्था र महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जर भएर जाल्पा सामुदायिक लघुवित्तको रुपमा २०७७ मंसिर १६ गतेदेखि एकिकृत कारोबारको शुरुवात गरेको थियो।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था २०७५ भदौ ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो भने नेपाल राष्ट्र बैंकबाट २०७५ कार्तिक ०१ गते वित्तीय कारोबार गर्न अनुमित पाएको थियो।

२०७५ चैत १ गते देखि औपचारिक रुपमा कारोबार शुरु गरेको यस लघुवित्त वित्तीय संस्थाले हाल लघुवित्तले २४ जिल्लाहरुमा १ वटा केन्द्रिय कार्यालय, २ वटा प्रदेश कार्यालय, १४ वटा अनुगमन कार्यालयहरु, ८७ शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ।

विपन्न वर्ग एवं न्यून आय भएका व्यक्तिहरुमा स्वरोजगारीको अवसर सृजना गर्नका लागि लघुकर्जा र लघु बचतका माध्यमबाट आर्थिक एवं सामाजिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुलाई आर्थिक एवं सामाजिक रुपले सशक्त बनाउनुको साथै धितो नभएकै कारण वित्तीय सेवाबाट बञ्चित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई सामूहिक जमानीमा वित्तीय सेवा उपलब्ध गराई व्यवसायिकरणको विकास गर्ने र सामाजिक सचेतना बढाउने लघुवित्तको उद्देश्य छ।

यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्कीको पोखरा महानगरपालिका ८, सिमलचौरमा रहेको छ।

तीन वर्षमा सञ्चित नाफा ४८ करोड माथि पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ४८ करोड ६ लाख १६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७७/७८ सम्म कम्पनीको सञ्चित मुनाफा १३ करोड ८० लाख रुपैयाँ रहेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३३ करोड ९७ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ ४९३ रुपैयाँ ६२ पैसा र प्रतिशेयर आम्दानी ११२ रुपैयाँ ८७ पैसा पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २९७ रुपैयाँ ४२ पैसा र प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ३२ पैसा पुग्ने लघुवित्तको अनुमान छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार आईपीओ निष्काशन गर्ने परेको लघुवित्तले जनाएको छ। त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.६२५ प्रतिशत अर्थात ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेर चुक्ता पूँजी १६ करोड रुपैयाँ पुर्याउन लागेको हो।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ५ करोड २२ लाख रुपैयाँ मध्ये भौतिक पूर्वाधार तथा शाखा विस्तार गर्न ५० लाख रुपैयाँ, पशुपालन तथा कृषि कर्जामा २ करोड रुपैयाँ, खुद्रा व्यापार र सेवा कर्जामा २ करोड रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा ७२ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्तको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र १ जना सञ्चालक हुने प्रावधान रहेको छ।

सञ्चालक समितिको अध्यक्षमा वीर बहादुर अधिकारी रहेका छन्। अध्यक्ष अधिकारीसँग सृजना विकास केन्द्र, सृजना बैंकिङ्ग कार्यक्रमको कार्यकारी प्रमुखको रुपमा १४ बर्षको कार्यानुभव र सृजना विकास केन्द्रको अध्यक्षको अनुभव रहेको छ।

यस्तै सञ्चालक समितिमा सदस्यमा अर्जन श्रेष्ठ, गिता कुमारी योगी गिरी, शुष्मा गौतम र ओमबार पाण्डे रहेका छन्। पाण्डे स्वतन्त्र सञ्चालक हुन्।

हाल लघुवित्तको सञ्चालक समितिमा ५ जना रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुबाट २ जना चयन हुन बाँकि छ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ। संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा जोड दिन जनाएको छ।

कर्जामा दोहोरोपना/वहुपनाको कारणले अस्वस्थ देखिएको लघुवित्त क्षेत्रको सुधारको लागि ‘‘स्वच्छ लघुवित्त हाम्रो अभियान’’ लाई सार्थक रुप प्रदान गर्न संस्थामा मात्र आवद्ध भई कर्जा उपभोग गर्ने ऋणी सदस्यहरुलाई प्रोत्साहन स्वरुप ब्याजदरमा सहुलियत प्रदान गर्ने रणनीति लघुवित्तले लिएको छ।

यस्तै ग्राहकको आवश्यकता अनुरुप नै सेवाहरु उपलब्ध गराउँदै लैजाने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा विशेष जोड दिने, ऋण रकमको उपयोग उत्पादनशील कार्यमा लगाउनका लागि ऋणीहरुको उद्यमशिलता विकासमा जोड दिने, संस्थाको पूँजीकोष नेपाल राष्ट्र बैंक लगायत नियमनकारीको निर्देशन पालना गर्ने/गराउने, परम्परागत कारोवार प्रणाली प्रविधियुक्त हुने गरी रुपान्तरण गर्ने कार्यमा नीतिगत व्यवस्था गर्ने लगायतको रणनीति लघुवित्तले लिएको छ।

लघुवित्तले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने गरी आवश्यक कार्यहरु गर्ने तयारी समेत गरेको छ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।