चालु वर्ष सिटिजन्स बैंकको पे आउट रेशियो १२५.८६ प्रतिशत छ। सिटिजन्सले सबै वाणिज्य बैंकहरुलाई पे आउटमा पछि पार्दा सनराइज बैंक भने सबैभन्दा पुछारमा परेको छ। उसको पे आउट रेशियो ४४.१९ प्रतिशत मात्रै भएकोले गणना क्रममा सनराइज सबैभन्दा पुछारमा देखिएको हो।
सूचीकृत सबै वाणिज्य बैंकहरुको पे आउट रेशियो मिश्रित देखिएको छ। बैंकहरुले आ-आफ्नै रणनीति अख्तियार गरेका कारण उनीहरूको रेशियो मिश्रित देखिएको हो। रेशियो मात्रै मिश्रित देखिएको छैन, केही सूचीकृत बैंकहरूले आम्दानीभन्दा पनि बढी लाभांश दिएपछि उनीहरूको पे आउट रेशियो नै बढी देखिएको हाे। आफ्नो आम्दानीभन्दा बढी लाभांश दिने कम्पनीमा सिटिजन्स बैंक, नबिल बैंक र कृषि विकास बैंक छन्। उनीहरूको क्रमशः पे आउट रेशियो १२५.८६, ११६.७९ र १०२.४७ प्रतिशत छ।
![](https://images.merolagani.com/Uploads/Repository/637759308988642602.jpg)
के हाे डिभिडेन्ड पे-आउट रेशियो?
कम्पनीहरूले गत आर्थिक वर्षमा गरेको आम्दानीबाट कति प्रतिशत प्रतिफल वितरण गर्यो भनेर देखाउने इन्डिकेटरलाई डिभिडेन्ड पे-आउट रेशियो भनिन्छ। मेरोलगानीले वाणिज्य बैंकहरूले घाेषणा गरिसकेको लाभांशको आधारमा पे आउट रेशियो निकालेको हो।
खासगरि कुनै कम्पनीले कुनै वर्ष गरेको खुद नाफाको आधारमा उसले कति लाभांश दियो भन्ने कुरालाई प्रतिशतमा हेर्नु पर्यो भने उक्त रेशियो हेर्ने गरिन्छ। जसलाई लाभांश भुक्तानी अनुपात पनि भनिन्छ। विशेष गरेर यसले शेयरधनीहरूलाई लाभांशको रूपमा भुक्तानी गरिएको कम्पनीको आयको प्रतिशत देखाउँछ।
के संकेत गर्दछ?
कम भुक्तानी अनुपातले कम्पनीले आफ्नो आम्दानीको ठूलो हिस्सा सञ्चालन विस्तारमा पुन: लगानी गर्ने वा रिटेन गरेकाे सङ्केत गर्छ भने १०० प्रतिशतभन्दा बढी भुक्तानी अनुपातले कम्पनीले आफ्नो आम्दानीलाई समर्थन गर्न सक्नेभन्दा बढी लाभांशमा भुक्तान गरिरहेको सङ्केत गर्छ।
यस अनुपातकाे विश्लेषण गर्दा विभिन्न कुराहरूमा ध्यान दिन पर्दछ। जसमध्ये एक हाे कम्पनीकाे परिपक्वता। यदि कम्पनी नयाँ छ भने साे कम्पनीले व्यवसाय विस्तार गर्नका लागि आम्दानीकाे केही हिस्सा मात्र लाभांश वितरण गर्नु राम्राे हुन्छ। जसले गर्दा उसले बाँकी आम्दानी व्यवसाय विस्तारमा लगानी गर्न सक्छ। त्यसैगरी, कम्पनी परिपक्व छ भने उसले आम्दानीभन्दा बढी आफ्नाे क्षमता अनुसार लाभांश वितरण गर्न सक्छ।
कसरी गणना गर्ने?
उक्त रेशियो गणना गर्ने दुई वटा सूत्र विश्व बजारमा प्रचलित छ। जसमा कुल लाभांश भागा खुद नाफालाई एक सयले गुणन गर्दा आउने अंक नै पे आउट रेशियो हो। त्यसैगरि, प्रति शेयर लाभांश भागा प्रति शेयर आम्दानीलाई एक सयले गुणन गर्दा आउने अंक पनि पे आउट रेशियो नै हो। तर, दुवै सूत्रले परिणाम भने उति नै देखाउँछ। जसलाई जुन सजिलो लाग्छ त्यही सूत्र प्रयोग गर्ने प्रचलन बढी छ।
![](https://images.merolagani.com/Uploads/Repository/637758806108005545.png)
उक्त सूत्र अनुसार पे आउट रेसियो निकाल्दा तीन बैंकले भने पे आउट रेशियो शतप्रतिशत भन्दा बढी छ। केही कम्पनीले आम्दानीभन्दा थारै लाभांश वितरण गरेका कारण उनीहरूको रेशियो कम छ।
कम्पनीहरूले आफूले कमाएको भन्दा पनि बढी दिन सक्ने व्यवस्था नेपालमा पनि छ। सोही कारण तीन बैंकले चालु वर्ष आफूले कमाएको भन्दा बढी लाभांश दिएको नेपाल बैंकर एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले जानकारी दिए। “सम्बन्धित कम्पनीहरूले आन्तरिक आम्दानी व्यवस्थापन गरेर लाभांशको रूपमा वितरण गर्न सक्छन्। कम्पनीहरूले आफ्नो सञ्चित जगेडामा रहेको रकमलाई प्रयोग गरेर लाभांशको रूपमा वितरण गरेको कारण कसैको शतप्रतिशत भन्दा बढी देखिएको हो” अधिकारीले मेरो लगानी सँग भने।
![](https://images.merolagani.com/Uploads/Repository/637759318093331153.jpg)
धेरै लाभांश प्राप्त गर्नु लगानीकर्ताको लागि राम्रो हो। आम्दानीको १०० प्रतिशतभन्दा माथि लाभांश वितरण गर्दा आगामी वर्षहरूमा पनि सोही अनुसार लाभांश दर आउछ भन्ने पक्का भने हुँदैन। आम्दानीभन्दा धेरै लाभांश वितरण गर्ने क्रमले निरन्तरता पाउँछ या पाउँदैन भन्ने कुरा भने आउने वर्षहरूमा कम्पनीले गर्ने वार्षिक प्रगतिमा भर पर्छ। यदि कम्पनीको आम्दानी खुम्चियो र सञ्चित जगेडामा पर्याप्त रकम नभए कम्पनीको लाभांश दर खुम्चिन सक्छ। जसले गर्दा कम्पनीहरूको एक वर्षको लाभांश दर अनुसार अर्को वर्ष पनि बढ्छ भनेर ढुक्क हुने अवस्था रहदैन।
तर, कम पे आउट रेशियाे हुँदैमा कम्पनी नराम्रो भन्न मिल्दैन। कम्पनीले आ-आफ्नो रणनीति अनुसार लाभांश वितरण गर्ने गर्छन्। कुनै कम्पनीले शेयरधनीलाई यसपालि अलि बढी नै दिऊ भन्ने लाग्यो भने उनीहरूले बढी दिन सक्छन्। कसैले कम्पनीलाई थप मजबुत बनाउनु पर्छ। कम लाभांश दिए सञ्चित मुनाफा बढाउने रणनीति लिए उनीहरूले कम लाभांश दिन्छन्। दिन सक्ने क्षमता भएर पनि नदिँदैमा शेयर धनीको लाभांश भने हराउँदैन। कम्पनीमा रहेको रकम आखिर शेयरधनीकै हुन्छ। कम दिने कम्पनीहरूले लगानीकर्ताभन्दा पनि कम्पनी बलियो बनाउनु पर्ने मान्यता राखेका कारण उनीहरूको पे आउट रेशियो कम देखिएको हुनसक्छ।