शेयर बजारमा ‘पोजेटिभ भाइब्रेन्ट’, लगानीकर्ताको दृष्टिमा नेप्से उकालो लाग्नुका यस्ता छन् ६ कारण

Jul 25, 2021 06:24 PM Merolagani

नयाँ सरकार बनेदेखि नै नेप्से निरन्तर उकालो लाग्दै गएको छ । असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेप्से निरन्तर उकालो लाग्दै गएको छ ।नयाँ सरकार गठन भएकै दिन नेप्से बढेर २८७१.०३ अंकमा पुगेको थियो । त्यसपछि नेप्से निरन्तर बढेर आइतबारसम्म ३०५८.६३ अंकमा पुगेको छ । नेप्से अहिलेसम्मकै उच्च अंकमा पुगेको छ ।

 

नेप्से अझै बढ्ने अनुमान लगानीकर्ताहरुले गरेका छन् । लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले ६ कारणले शेयर बजार अझै बढ्ने सम्भावना देखिएको बताए ।

‘पहिलो कारण त लामो समय वियरिस ट्रेनमा नेप्से थियो, केही समयदेखि बुलिस ट्रेनमा गएका छ,’ उनले भने, ‘त्यसैले पनि बजार अझै बढ्ने सम्भावना देखिन्छ ।’

सरकारले गत आर्थिक वर्षको अन्त्यमा अत्याधिक खर्च गरेका कारण त्यो खर्च गरेको रकम बैंकिङ प्रणालीमा आएकाले पनि तरलतको अभाव तत्काल नहुने देखिन्छ । लगानीयोग्य रकम बैंकिङ प्रणालीमा प्रयाप्त भएसम्म बैंकको ब्याज बढ्ने सम्भावना हुँदैन् ।

दोस्रो शेयर बजार बढ्ने कारण बजारमा प्रयाप्तमात्रमा तरलता रहेको र त्यसले बैंकहरुलाई ऋण प्रवाह गर्न समस्या नभएकाले पनि नेप्से बढेको लम्सालको भनाइ छ । ‘लिक्युडिटी एकदमै सहजता छ,’ उनले भने, ‘त्यसले गर्दा पनि बजार बढ्न मदत पुगको हो ।’

नेप्से बढ्नुको तेस्रो कारण प्रजातान्त्रिक दलको नेतृत्वमा सरकार बनेकाले पनि लगानीकर्ता शेयर बजारमा लगानी बढाउन हौसिएका हुन् । ‘अर्थमन्त्री नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मा भएपनि डेमोक्रेटिक दलको नेतृत्वमा सरकार बनेकाले लगानीकर्ता शेयर बजारप्रति आकर्षित भएका हुन्,’ लम्सालले भने, ‘यसका कारण पनि बजार बढ्न पुगेको हो ।’

त्यस्तै, चोथौ कारण पछिल्लो समय अत्याधिक लगानीकर्ताले शेयर बजारमा लगानी गर्न थालेका छन् । शेयर बजार लगानीको आकर्षक क्षेत्र भएका कारण पनि नेप्से बढ्न पुगेको हो । ‘शेयर बजारमा लगानीकर्ता मेस्सिभल्ली बढे,’ लम्सालले भने, ‘त्यसकारण पनि बजार बढ्न पुगेको हो ।’

शेयर बजार बढ्नुको पाँचौ कारण नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । ‘नेप्सेमा सुचिकृत सबै रिपोटहरु ठ्याक्कै आउने बेला भयो,’ उनले भने, ‘चौथो त्रैमासिक वित्तीय विवरण अलि अलि बजारमा चुहिन लाग्यो, त्यसैले पनि बजार बढ्न पुगेको हो ।’

यतिबेला गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीले यति र उति लाभांश दिन सक्छन् भन्ने अनुमान गर्न थालिएकाले पनि नेप्से बढ्न पुगेको हो । ‘बाली भित्र्याउने समय भएको छ,’ लम्सालले भने, ‘यसले गर्दा पनि बजार अझै बढ्ने सम्भावना देखिएको हो ।’

छैठौ कारण यसअघि बैंकिङ समूहको उपसूचक बढेको थिएन् । तर पछिल्लो समयमा बैंकको शेयर मूल्य बढ्न थालेको र त्यसले समग्र नेप्सेलाई नै तानिदिएकाले नेप्से उकालो लाग्न पुगेको लम्सालले बताए ।

यी र यस्तै कारण गर्दा अझै केही समय नेप्से बढ्ने अनुमान लगानीकर्ताले गर्दै आएका छन् । लगानीकर्ता मात्रै होइन अर्थशास्त्रीहरुले पनि मुलुकको अर्थतन्त्र केही सुधार हुने सम्भावना देखिएको बताउन थालेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधी सभा पुनस्र्थापना गरि दिएपछि अर्थतन्त्रले पुनः गति लिने संकेत देखाएको छ । कोरोना भाइरसको संक्रमणले थिलाथिला भएको अर्थतन्त्रको पुर्नउत्थान नहुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी निर्वाचनमा जाने घोषणा गरेसँगै अर्थतन्त्र ओरालो लाग्ने अनुमान गरिएको थियो ।

तर सर्वोच्च अदालतले संसद पुनस्थार्पना गर्ने निणर्य गरेसँगै अर्थतन्त्रले गति लिने सम्भावना देखिएको हो । संसद पुनस्थार्पनाले अर्थतन्त्रलाई सकारात्मक सन्देश दिएको अर्थविद् डा. शंकर शर्माले बताए ।

‘संसद पुनस्र्थापना नभएर प्रधानमन्त्रीले घोषणा गरेजस्तै निर्वाचनमा मुलुक गएको भए विकास निर्माण खर्चमा जाने रकम फर्जुल खर्चमा जान्थ्यो,’ उनले भने, ‘तर सर्वोच्च अदालतले संसद पुनस्थार्पना गरिदिएकाले अर्थतन्त्र फेरी पुरानै लयमा फर्कने सम्भावना बढेको छ । यद्यपी कोरोनाको तेस्रो लहरको त्रास भने कायम नै रहेको छ ।’
निर्वाचन भएको भए चन्दा आतंक बढ्ने थियो । तर, संसद पुनस्थार्पना भएकाले चन्दा आतंक रोकिएको पनि उनले बताए ।

निर्वाचन भएको भए भ्रष्टाचार अझै बढने थियो । तर, त्यो पनि केही हदसम्म रोकिने अर्थविद् शर्माले बताए ।
त्यसैगरी, निर्वाचन भएको भए कर्मचारी सरुवाको लहर नै चल्ने थियो । कर्मचारी सरुवाले जनताका काम समयमा नहुने स्थिति आउने र यसले अस्थिरता निम्त्याउने सम्भावना थियो । तर, संसदको पुनस्थार्पनाले त्यस्तो कार्य रोकिएको उनको भनाइ छ ।

तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिनिधी सभा विघटन गरी निर्वाचनमा जाने निणर्य गरेको थियो । निर्वाचनका लागि ७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको थियो ।

कोरोना भाइरसले थिलोथिलो भएको समयमा मुलुकले निर्वाचनमा हुने भिमकाय आकारको खर्च व्योहोर्न नसक्ने र अर्थतन्त्र झन धरारायी अवस्थामा पुग्ने अनुमान अर्थविद्हरुले गरेका थिए । तर सर्वोच्च अदालतले संसद पुनस्थार्पना गरेपछि निर्वाचनमा जाने फर्जुल खर्च नियन्त्रण भएको उनीहरुको भनाइ छ ।

यता, अर्थतन्त्रको ऐनाको रुपमा लिइने शेयर बजार पनि संसदको पुनस्थार्पनाले सकारात्मक मोडममा जाने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् ।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Feb 06, 2022 10:20 AM

नेपाल लाइफ इन्स्योरेन्सले (NLIC)  शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।