सातामा साढे ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Feb 05, 2022 08:52 AM Merolagani

यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७७९.९८ विन्दुमा बन्द भएको नेप्से, यस साता ९६.७६ अंक बढेर २८७६.७४ विन्दुमा बन्द भएको छ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन खुलेको बजारमा दुई कारोबार दिन उकालो लागेसँगै नेप्से सो बराबरको अंक बढ्न पुगेको हो। यस साता सेन्सेटिभ इण्डेक्स ४.०३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४४ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या, औषत कारोबार संख्या पनि बढेको छ। यस साता दैनिक औषत कारोबार रकमा ८७ करोड रुपैयाँ बढेको छ। गत साता ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता औषत कारोबार संख्या १०.५९ प्रतिशत बढेको छ भने औषत शेयर संख्या ९.०४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ३६ अर्ब रुपैयाँ बढेको छ। गत साता ३९ खर्ब २८ अर्ब रुपैयाँ पुगेको नेप्सेको बजार पूँजीकरण, यस साता ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधनको सबैभन्दा कम बढेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ८.४९ प्रतिशत बढेको छ। गत साता ३२५०.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २७५.९५ अंक बढेर ३५२६.५० विन्दुमा पुगेको छ।

त्यसैगरी, सबैभन्दा कम बढ्ने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस साता ०.४७ प्रतिशतमात्र बढेको छ। गत साता ७२६८.३८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता ३३.८८ अंक बढेर ७३०२.२६ विन्दुमा पुगेको छ।

अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ३५६.८८ अंक बढेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम ०.३० अंक बढेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता हिमालयन उर्जा विकास कम्पनी, एनएमबि ५०, प्रभु लाइफ इन्स्योरेन्स लगायतका कम्पनी मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन् भने मनकामना स्मार्ट लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नयाँ सारथी नेपाल लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus